निदाइरहेका बेला एकपछि अर्को चित्र, विचार, भावना तथा संवेदना अचेतन रूपमै मस्तिष्कमा आउनु सपना देख्नु हो । मानव इतिहासमा धेरै प्रयास भए पनि कुनै व्यक्तिले किन कुनै किसिमको सपना देख्छ र त्यसको अर्थ के हुन्छ ? राम्रोसँग बुझ्न सकिएको छैन । सपना विशेष गरेर Rapid Eye Movement (REM) sleep (निद्रा) को स्थितिमा देखिन्छ । सपना विभिन्न किसिमका हुन्छन्, जस्तै कि डरलाग्दो, साहसिक, रमाइलो वा यौनसम्बन्धी । यौन सपनाको सन्दर्भमा यस्तो REM स्थितिमा
यौनाङ्गमा रगत भरिन्छ र पुरुषको लिङ्ग उत्तेजित हुने अनि महिलामा योनिश्राव भएको पाइन्छ ।
यौनसम्बन्धी कुरा हामी निदाएको बेलामा पनि निरन्तर रूपमा चलिरहन्छ । निदाएका बेला लिङ्ग उत्तेजित हुने वा यौन क्रियाकलापमा संलग्न भएको सपना देखिन्छ । प्राय:जसो पहिलो पटक यो किशोरावस्थामा हुन्छ र यसले यौन विकास राम्रोसँग भएको संकेत गर्छ । यही क्रममा कतिपय व्यक्तिले यौन चरमसुख पनि प्राप्त गर्छन् । यसरी निदाएका बेला सपनामा यौन क्रियाकलापमा संलग्न भएको देखेर वीर्य स्खलन हुनुलाई नै बोलीचालीको भाषामा स्वप्नदोष भनिन्छ । अंग्रेजीमा भने wet dreams, night fall वा nocturnal emmisions जस्ता शब्दको प्रयोग यही अवस्थालाई वर्णन गर्न गरिन्छ ।

स्वप्नदोष भनिए पनि वास्तवमा यो कुनै दोषयुक्त कुरा नभै स्वाभाविक रूपमै हुने कुरा हो । १५ वर्षको भैसक्दा यस्तै ५० प्रतिशतजति किशोरले यसको अनुभव गरिसकेका हुन्छन् । यस्ता यौन सपना एकदमै जीवन्त हुने र वास्तविकतासँग छुट्टयाउनै नसकिने अनुभव प्रशस्त युवाको छ । यस्ता सपनामा कहिले आफूले वास्तविक जीवनमा यौनसम्बन्ध राख्न नमिल्ने नातेदार, सार्वजनिक स्थान वा जनावर पनि देखिन सक्छ । कतिपय यस्ता यौन उत्तेजक सपना देखिसकेर वीर्य स्खलन हुनासाथ बिउँझिन्छन् भने अर्का थरी वीर्य स्खलन हुनै लाग्दा बिउँझिन्छन् । केहीको त निद्रा नै खुल्दैन र बिहान बिउँझिएपछि मात्र थाहा पाउँछन् ।

किन यस्तो हुन्छ ?
अचेलका केही अनुसन्धानले टेस्टेस्टोरोन नामक हार्मोनको शरीरमा हुने मात्रासँग स्वप्नदोष हुने वा नहुने कुरालाई जोडेका छन् । स्वप्नदोष हुने व्यक्तिहरूमा टेस्टेटोरोनको मात्रा बढी हुने कुरा बताइन्छ । हुन त यौनका दृष्टिले स्वस्थ व्यक्तिमा यो हार्मोन हुन्छ नै, तर पनि कुनै व्यक्तिलाई स्वप्नदोष नै नहुन सक्छ र यो पनि एकदमै प्राकृतिक कुरा हो ।

समाधानका लागि के गर्ने ?
तपाईंको उमेर कति हो, लेख्नुभएको छैन तर स्वप्नदोषका सम्बन्धमा उचित तथा सही जानकारी नपाउने हुनाले कतिपय किशोर तथा युवाहरू गहिरो चिन्तामा पर्छन् । उनीहरूले आफूलाई कुनै गम्भीर रोग लागेको भन्ने मान्छन् । तन्ना वा लगाएको लुगामा वीर्यको दाग लाग्ने अनि कसैले थाहा पाउला भन्ने कुराले पनि निकै चिन्ता हुन्छ । सपनाको अर्थ लगाउने चलन नेपाली समाजमा पनि प्रशस्तै छ । अझ यस्ता किसिमका सपनाको अर्थ के होला भन्ने चासो किशोरावस्थामा निकै प्रबल रूपमा हुन्छ ।

तपाईंले चिकित्सकहरूलाई देखाएको र औषधी खाएको कुरा गर्नुभएको छ । उहाँहरूले के–कस्तो उपचार गर्नुभयो भन्ने सम्बन्धमा केही नलेख्नु भएकाले यसै भन्न सकिने कुरा भएन, तर तपार्इंले बुझ्नुपर्ने कुरा के हो भने यो एउटा प्राकृतिक तथा स्वाभाविक प्रक्रिया हो । त्यसैले यसको उपचारको आवश्यकता पर्दैन । अनावश्यक रूपमा उपचार गराउँदा तपार्इंलाई होईन कि उपचारकर्तालाई मात्र फाइदा हुन्छ । अर्को कुरा, तपाईंले ठीक भएन भन्नुभएको छ । जब यौनसपना देख्नु कुनै पनि प्रकारले बेठीक नभएपछि तपाईंले ठीक भएन भन्ने कुरा तर्कसंगत रहँदैन । तपाईंको प्रजनन तथा यौन प्रणालीले जबसम्म राम्रोसँग काम गरिरहन्छ यस प्रकारको घटना दोहोरिरहन सक्छ अर्थात् यसलाई तपाईंले चाहँदैमा सजिलै रोक्न सकिँदैन । यसलाई कम गर्न यौन चरमसुख पाउने वा वीर्य स्खलन हुने उपाय जस्तै कि हस्तमैथुन वा यौन सम्पर्क सहयोगी हुन सक्छन् । त्यसबाहेक तनावरहित जीवन, उत्तानो परेर सुत्ने, सुत्दा खुकुलो पहिरन लगाउने, यौन चित्र वा चलचित्र नहेर्ने, ध्यान गर्नेदेखि लिएर कतिपय जडीबुटिको सेवनको कुरा पनि छ ।

यस्ता यौन सपना स्वभाविक हुन् र हानिकारक हुँदैनन्, त्यसैले चिन्ताको कुनै कारण छैन । सामान्य जीवनमा नहुने कुरा नै यस्ता यौन सपनामा हुने भएकाले तपाईंले अनावश्यक चिन्ता लिनु पर्दैन । यति गर्न सके तपाईंको समस्या समस्या रहँदैन । तपाईंलाई यस्तो किसिमको चिन्ताले असजिलो पारेको छ भने मनोचिकित्सकको सहयोग लिने विषयमा विचार गर्न सक्नुहुन्छ ।

सरसफाइका कुरा
निद्रामा वीर्य स्खलन भएपछि सरसफाइमा विशेष ध्यान दिनुपर्छ । वीर्य यौनाङ्ग क्षेत्रमा रहिरहे संक्रमण हुने जोखिम हुन्छ । त्यसैले बिउँझिएपछि लिङ्ग, अण्डकोष तथा त्यसपछि वरिपरिको क्षेत्र साबुन–पानीले धुनुपर्छ । तन्ना वा लगाएको लुगामा वीर्यको दाग लाग्ने अनि कसैले थाहा पाउला भन्ने कुराको पनि निकै चिन्ता हुन्छ । अन्डरवेयर वा कट्टु लगाएर सुते त्यसलाई मात्र धुनु तुलनात्मक रूपमा सजिलो हुन्छ ।